स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित बलेफी गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

sindhutimes.com

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई आत्मसात गर्दै बलेफी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष सरु लामा तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने सामाजिक विकास समिति संयोजक एवम् वडा नं. ८ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। बलेफी गाउँपालिकाद्वारा आयोजित उक्त खेलकुद महोत्सव दुई दिनसम्म सञ्चालन हुने छ। प्रतियोगिता श्री बाल शिक्षा माध्यमिक विद्यालय, बलेफी–७ खाडीचौरको प्राङ्गण तथा बसन्तपुर खेलमैदान, लामोसाँघुमा आयोजना गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष तामाङले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, नेतृत्व र राष्ट्रिय भावनाको विकास गर्ने बताउनुभयो। उहाँले विद्यार्थी तहदेखि नै खेलकुदलाई प्रोत्साहन गर्नु आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहले खेलकुद विकासमा निरन्तर लगानी गरिरहेको बताउनुभयो। त्यस्तै विशेष अतिथि उपाध्यक्ष सरु लामा तामाङले राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदलाई करियरको रूपमा विकास गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सभापति रमेश कुमार श्रेष्ठले खेलकुदले विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्दै सकारात्मक सोच र प्रतिस्पर्धी भावना विकास गराउने उल्लेख गर्नुभयो। उहाँले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई खेल भावना अनुसार प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। प्रतियोगितामा बलेफी गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन्। एथलेटिक्स, भलिबल, कबड्डी, दौडलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। स्थानीय तहको सक्रियतामा आयोजना गरिएको यस प्रकारको खेलकुद महोत्सवले बलेफी गाउँपालिकामा खेलकुदको विकास, प्रतिभा उत्पादन र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया