पाँच दिनदेखि हराइरहेका याङवरक-१ च्याङथापुका दाजुबहिनी मृत अवस्थामा भेटिएका छन् । उनीहरुको शव मंगलबार याङवरक-१ को बिरुवा खोलामा फेला परेको हो ।
स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर र उनकी ६ वर्षीया बहिनी नानुमा शुक्रबार बिहानैदेखि सम्पर्कविहीन थिए । याङवरक-१ का अध्यक्ष राजेन्द्र खालिङका अनुसार उनीहरु बिरुवास्थित पूर्ण आधारभूत विद्यालयमाथि रहेको आफ्नो घरमा हजुरबा हजुरआमासँग बस्ने गर्थे ।
उनीहरुले साउन १४ गते साँझ विद्यालयमुनि रहेको बुबाको घरमा बस्न आएका थिए । घर आइपुग्दा बुबा नभेटेपछि छिमेकी कलम बान्तावाको घरमा बास बसेका उनीहरु साउन १५ गते शुक्रबार हजुरबा-हजुरआमा बस्ने घर जान भन्दै हिँडेपछि सम्पर्कविहीन भएका थिए ।
निरन्तर चार दिनसम्म खोजी गर्दा मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा दुवैको शव भेटिएको वडाध्यक्ष राईले बताए ।
२२ साउन २०८२, मङ्गलबार १०:३८ मा प्रकाशित